भारतको भुवनेश्वोरमा जारी साफ यु–२० च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ। हिजो कालिङा रङसालामा भएको खेलमा नेपाल आयोजक भारतसँग अप्रत्यसित हार बेहोर्न पुगेको हो । भारतीय युवा टोली बिरुद्द नेपाली युवा टोली ८-० को फराकिलो अन्तरले पराजित भयो ।
जारी प्रतियोगितामा नेपाली युवा टोलीको यो पहिलो हार हो । यो हारसँगै नेपालको फाईनल प्रबेशको सम्भावना कठिन बनेको छ। तीन खेलको समाप्तीमा नेपाल र आयोजक भारतको समान ६–६ अंक भएतापनी गोल अन्तरको आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ। उता शतप्रतिशत नतिजा निकालेको बंगलादेश भने ९ अंकका साथ शिर्ष स्थानमा छ ।
नेपाली युवा टोलीले समुहको अन्तिम खेल मगलबार बाङ्लादेशसँग खेल्ने तालिका रहेको छ । सोही दिन आयोजक भारतले तुलानत्मक रुपमा कमजोर मानिएको माल्दिभ्सको सामना गर्नेछ । आइतबार नै भएको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका थिए । यद्यपि यो नतिजाले यी दुवै टोलीका लागि केही अर्थ भने राख्ने छैन । आइतबारको नतिजापछि श्रीलंका र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।



स्मरण रहोस, राउन्ड रोबिनका आधारमा भईरहेको प्रतियोगिताका शिर्ष २ टोलीले फाईनल खेल्नेछन। बाङ्लादेशसँग मंगलबारको खेल नेपाली युवा टोलीका लागि निकै महत्तोपूर्ण हुनेछ।